तीन जना नेताको विरुद्धमा बोल्यो भने खैरियत छैन : अमरेश

काठमाडौं । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताए ।

तीन शिर्ष नेताहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ ।

‘अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीन वटा ठूला पार्टीका जुन तीन टाउका छन् । बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ,’ उनले भने, ‘कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ । त्यसको दर्जनौं फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँट्टा थप्ने काम गर्दछ ।’