प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
सम्बोधनको क्रममा उनले भने,‘छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई यस सरकारले उच्च प्राथमिकतामा राखेको छ । मैले सरकारको नेतृत्व लिएपछि गरेको मित्रराष्ट्र चीन र थाइल्याण्डको औपचारिक भ्रमण तथा विमस्टेकको छैटौं शिखर सम्मेलन, विकासका लागि वित्त सम्बन्धी चौथो संयुक्त राष्ट्रसङ्गघीय सम्मेलनमा भएको सहभागिताबारे यस सम्मानित सदनमा जानकारी गराई सकेको छु । यसका अतिरिक्त परराष्ट्र मन्त्रीद्वारा भएका विभिन्न देशका भ्रमण र बहुपक्षीय फोरममा भएको सहभागिता तथा विभिन्न मन्त्री तथा मन्त्रालयका अधिकारीद्वारा भएको भ्रमण/सहभागिताले नेपालजस्ता देशका चासो, मुद्दा र आवाजहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउने र नेपाललाई क्षेत्रीय तथा विश्वस्तरीय मञ्चमा चिनाउने काम भएको छ ।’
सो क्रममा उनले वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने संकल्पकासाथ अघि बढिरहेको दाबी गरे । उनले देशका विभिन्न भागमा आएका बाढी पहिरो, खडेरी जस्ता विपत्तिहरूका वाबजुद माथि उल्लेख गरिएका आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको स्पष्ट संकेत गर्ने सुनाए ।
उनले वर्तमान सरकारले एक वर्षको समयमा जनताका आशा र अपेक्षा पूरा गर्न हरसम्भव प्रयास गरेको पनि विश्वास दिलाए । उनले भने,‘आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र वजेटको प्रभावकारी कार्यान्वयन गर्दै सरकार आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्य प्राप्तिका लागि काम गरिरहेको पुनः दोहो¥याउँदै आफ्नो भनाइ अन्त्य गर्दछु । धन्यवाद ।’