काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र जिम्मेवारी बाँडफाँड गरेसँगै आन्तरिक समीकरणबारे चर्चा सुरु भएको छ।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यलाई नयाँ जिम्मेवारी दिएको हो। पहिलो चरणको जिम्मेवारी बाँडफाँडमा महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएका तथा पराजित भएका केही नेताले महत्वपूर्ण जिम्मेवारी पाएका छन् भने केही चर्चित अनुहार भने सचिवालयमा समेटिएका छैनन्।
महामन्त्रीमा उम्मेदवारी दिएर अन्तिम समयमा पछि हटेका गणेश पराजुली, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र जगदीश खरेल सचिवालय सदस्य बनेका छन्। महामन्त्री पदमा पराजित मनिष झालाई पनि सचिवालयमा समेटिएको छ। खरेललाई प्रवक्ताको जिम्मेवारीसमेत दिइएको छ।
त्यस्तै, उपसभापति पदको उम्मेदवारी फिर्ता लिएकी इन्दिरा राणा पनि सचिवालयमा परेकी छन्। पूर्वकोषाध्यक्ष लिमा अधिकारी, जेन–जी अभियन्ता पुरुषोत्तम यादव र विवेकशील साझाकी समीक्षा बास्कोटालाई समेत सचिवालयमा जिम्मेवारी दिइएको छ।
तर महाधिवेशनमा चर्चामा रहेका केही नेताहरू भने सचिवालयको संरचनामा अटेनन्। तोसिमा कार्कीलाई सचिवालय सदस्य नबनाई जनस्वास्थ्य संगठन प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै, यसअघि सचिवालय सदस्य रहेका सागर ढकाल पनि यसपटक सचिवालयमा दोहोरिएका छैनन्।
विवेकशील साझाबाट रास्वपामा आएकी रञ्जु दर्शना पनि सचिवालयमा समेटिइनन्। उनी यसअघि विवेकशील साझाकी महासचिव थिइन्। महामन्त्री पदमा पराजित गणेश कार्की पनि सचिवालयबाहिर छन्।
रास्वपा नेतृत्वले भने यसलाई अन्तिम जिम्मेवारी बाँडफाँडका रूपमा नलिन आग्रह गरेको छ। सभापति रवि लामिछानेले शुक्रबारको बैठकमा यो पहिलो चरणको मनोनयन भएको र क्षमता तथा योग्यता भएका नेताहरूलाई क्रमशः जिम्मेवारी दिइने बताएका छन्।
तर सचिवालयमा कसलाई समेटियो र कसलाई बाहिर राखियो भन्ने विषयले पार्टीभित्र नयाँ बहस जन्माएको छ। विशेषगरी पार्टीका निर्णय तथा गतिविधिबारे फरक धारणा राख्दै आएका नेताहरूलाई महत्वपूर्ण सांगठनिक संरचनाबाट टाढा राखिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।
तोसिमा कार्की, सागर ढकाल, रञ्जु दर्शना र गणेश कार्कीजस्ता नेताहरू पार्टीभित्र आफ्ना फरक धारणा खुलेर राख्ने नेताका रूपमा चिनिन्छन्। त्यसैले पछिल्लो जिम्मेवारी बाँडफाँडलाई कतिपयले नेतृत्वको प्राथमिकता र आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेर्न थालेका छन्।
यद्यपि, अहिले नै उनीहरूलाई पार्टीको मूल संरचनाबाट बाहिर पारिएको निष्कर्ष निकाल्न भने हतार हुने देखिन्छ। सभापति लामिछानेले आगामी चरणमा पनि जिम्मेवारी बाँडफाँड जारी रहने संकेत दिएका छन्।
अबको चरणमा सचिवालयबाहिर रहेका चर्चित नेताहरूलाई कस्तो जिम्मेवारी दिइन्छ भन्ने विषयले रास्वपाभित्रको आगामी राजनीतिक समीकरण निर्धारण गर्न सक्ने देखिन्छ।