कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न दिनुपर्ने बताएका छन् । उनले आगामी निर्वाचन यही सरकारले गराउनुपर्ने र उक्त निर्वाचनसम्मा कांग्रेसले वर्तमान सरकारले भन्दा राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राखेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा सम्बोधन गर्दै थापाले सरकारलाई कांग्रेसको सहयोग र खबरदारी दुवै रहने बताए । ‘हामी प्रतिस्पर्धी मात्रै होइनौं, सहयोगी पनि हौं,’ उनले भने, ‘रास्वपा निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्छ । अर्को चुनाव यही सरकारले गराउनुपर्छ । त्यस निर्वाचनमा अहिलेको सरकारले भन्दा बढी काम गर्ने क्षमता राखेर विश्वास जित्नुपर्छ ।’
थापाले विगतमा बहुमतको सरकार आफ्नै आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा त्यसको मूल्य मुलुक र लोकतन्त्रले चुकाउनुपरेको स्मरण गरे । २०७४ सालमा तत्कालीन नेकपाको सरकार बनेपछि त्यसले पूरा कार्यकाल काम गर्न नसकेको र संसद् विघटनसम्मको अवस्था आएको उल्लेख गर्दै त्यसबाट कांग्रेसले केही राजनीतिक लाभ पाए पनि त्यो गलत भएको बताए ।
‘बहुमतको सरकार बन्यो तर आफूभित्रको द्वन्द्व व्यवस्थापन गर्न सकेन । प्रतिपक्षले पनि लाभ हुने कुरा सोच्यो । यो सोचबाट सिंगो लोकतन्त्र, नेपाल र हामीले मूल्य चुकाउनु पर्यो,’ थापाले भने ।