ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्ने बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षित विद्युत् प्रवाह गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै यसका लागि गम्भीर बन्नुपर्ने बताएका हुन् । ‘सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ,’– मन्त्री खड्काले भने ।
उनले सेवा प्रवाहको अग्रपङ्क्तिमा रहेका व्यक्तिले समाजप्रति उत्तरदायित्व बोध गर्दै नागरिकलाई आशा जगाउने काममा लाग्नुपर्ने बताए । मन्त्री खड्काले प्राधिकरणलाई अगाडि बढाउन ज्यालादारी कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए ।
सरकारले ऊर्जा विकासका लागि दश वर्षे लक्ष्य लिएको बताउँदै उनले यसलाई पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । ‘विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौं,’ मन्त्री खड्काले भने, ‘सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठूला जलाशययुक्त आयोजनालाई सरकारले अगाडि बढाउन खोजेको छ । यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपेक्षित छ ।’
उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासको बाधकका रूपमा रहेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढिरहेको बताए । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैको हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई बिनाधितो जलविद्युतको शेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्न लागेको बताए ।