डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ ।

आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो । रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो । तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’

प्रहरीले हुण्डी कारोबारबाट त्यो रकम आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भिजिट भिसामा काठमाडौं आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनले विजनेस भिसामा परिणत गर्ने तयारी समेत गरिरहेको सुनाएका थिए ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर जाँच गरिरहेको काठमाडौंका एसएसपी विश्व अधिकारी  बताउँछन् ।

जानकारहरुका अनुसार, २०७०/७१ सालको आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गरेपछि यसको मूल्य बढेको हो ।

चीनमा यो महँगो मूल्यमा बिक्री हुने गरेको छ । त्यही कारण तिमालको बोधिचित्त लुटपाट भएको समाचार समेत बेलाबेला आउने गरेको छ ।