ऊर्जामन्त्री खड्काविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस सांसद अनुपस्थित

ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए । 

समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए भने अन्य पार्टीका सांसदहरूको पनि न्यून उपस्थिति रह्यो

२६ सदस्यीय समितिमा १२ जना मात्रै सांसदको उपस्थिति थियो । कांग्रेसका सांसदहरू पनि हाजिरी लगाएर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए । कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ अनुपस्थित रहे ।

मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो । यी आयोजना ठेक्का लगाउनका लागि मन्त्री खड्काले अनियमितता गरेको आरोप लगाएर समितिमा उजुरी परेको थियो ।