नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताए ।
केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता शेखर कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवस कुराकानी भए पनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको प्रचण्डले बताए ।
‘कांग्रेसका सशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो । सरकारप्रति अहिले कुनै अभिरुचि छैन । सरकार जति जान पर्ने हो जाओस्, हामी जनतासँगै छौँ भनेको थिएँ,’ प्रचण्डले भने, ‘पत्रकार साथीहरूले सरकार तलमाथि भइहाले के हुन्छ भन्दा मैले साथीहरू हुनुहुन्छ भनेको हुँ, सशांकजीले पनि राजनीति हो भनिदिनुभएको थियो । यो संयोग मात्रै भएको हो । हामी सरकारमा जान इच्छुक छैनौँ ।’
सरकारमा जाने कुनै अभिरुचि नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए । यो गठबन्धन भने धेरै समय नटिक्ने उनको तर्क छ ।
सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विद्येक अध्यादेशमार्फत ल्याएर गलत गरेको जिकिर गरे । संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो ।