सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।
शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या देखा परेको छ । आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् ।
कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइको सामना गर्नुपरिरहेको छ । वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहार चिसोका कारण बाह्य क्षेत्रमा हिँडडुल गर्न अप्ठेरो परेको बताउँछन् । वर्षौँ पहिले दातृ निकायले दिएको प्लाष्टिकको त्रिपालबाट शीतको थोपा चुहिँदा झोपडीभित्रका ओढ्ने बिछ्याउने कपडा निथ्रुक्क भिज्ने गरेकाले आगो बालेर न्यानो गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।