राष्ट्रिय सभाका १७ सिटका लागि आज मतदान

राष्ट्रिय सभामा १७ सदस्य चयन गर्न आइतबार मतदान हुँदै छ । आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी पदका लागि निर्वाचन हुन लागेको हो ।

संविधानको धारा ८६ (३) मा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने उल्लेख छ । जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गर्ने व्यवस्था छ । मदान प्रदेश राजधानीमा हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै गणना थाल्ने तयारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/अध्यक्ष र उपप्रमख/उपाध्यक्ष मतदाता हुन्छन् । ७ वटा प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष कुल २ हजार ५६ मतदातामध्ये विभिन्न कारणले १४ स्थान पहिले नै रिक्त छन् ।

आसन्न प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभाका १६ र स्थानीय तहका ११ पदाधिकारीले राजीनामा दिएका छन् । पछिल्लो समय राजीनामा दिनेको नाम मतदाता नामावलीमा रहे पनि मत दिन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा ५ सय ४५ प्रदेशसभा सदस्य र पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष १ हजार ४ सय ९७ जनाको नाम छ । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ । पालिका पदाधिकारीको मतभार १९ छ ।

कोशी प्रदेशबाट ‘अन्य’ समूहबाट चुनिने एक सिटमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले र जसपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।