भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अघिल्लो महिना मात्र विदेश सचिवको जिम्मेवारी सम्हालेका मिस्री परिचयात्मक भ्रमणका क्रममा नेपाल आएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बूढानीलकण्ठ र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खुमलटारमा उनले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे । भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन द्विपक्षीय सहकार्यलाई जोड दिइएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताएका थिए । राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता रहेको पनि उल्लेख गरेका थिए । उनले नेपालमा जलविद्युत् विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको बताएका थिए ।
‘भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने, ‘विदेश सचिव मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ, त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पार्नुभयो ।’
प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ओली र विदेश सचिव मिस्रीबीचमा समान चासोका विभिन्न विषयमा छलफल भएको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले सचिव मिस्रीमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए ।