जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा शुभद्रा–मदन फाउन्डेसनका सञ्चालक मदन राईलाई दोषी ठहर गरेको छ । आफैँले स्थापना गरेको फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
आफूलाई कृषि वैज्ञानिक भन्ने राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा–मदन फाउन्डेसनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेका थिए ।