आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा छन् ।
जसमध्ये कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाहीको क्षेत्र नं ४ पनि संवेदनशील सूचीमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको यो क्षेत्र यसपटक थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा पनि छ ।
२०७९ मा सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले जितेका थिए । कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
जिल्लामा कुल ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटा अति संवेदनशील तथा १ सय ३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको हो । २३ मतदानस्थल मात्र सामान्य सूचीमा जिल्ला सुरक्षा समितिले राखेको छ । क्षेत्र नम्बर ४ को ८१ मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन् ।