प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।
आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । नेपालले रजत पदकको लक्ष्य बनाएर दिल्ली यात्रा गरेको हो । त्यो पूरा गर्न सक्नु नै नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ ।
नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जन भने, ‘विश्वकपमा हामीले जे लक्ष्य बनाएका थियौं, त्यसलाई खेलाडीको मिहिनेत र परिश्रमका कारण पूरा गरेका छौं । यो नै हाम्रा लागि ऐतिहासिक उपलब्धि हो ।’ ‘खो–खो भारतको सदियौं पुरानो खेल हो । त्यसमा भारतको पकड बलियो छ । त्यसलाई तोड्दै हामी विश्व च्याम्पियन हुन्छौं भन्नु मूर्खता हुन्थ्यो, त्यसैले हामीले पदक लक्ष्यमात्र बनाएका थियौं, त्यो प्राप्त गरेका छौं,’ अध्यक्ष महर्जनले थपे ।
फाइनलमा नेपालले पुरुषतर्फको खेल ५४–३६ स्कोरले भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाल प्रियन्काको कप्तानीमा रहेको भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । दुवै नेपाली टिमले फाइनलमा टस जितेर पहिले डिफेन्स गर्ने निर्णय गरेका थिए । सुरुआती एट्याकिङ पाएको भारतले राम्रो अंक बटुलेको थियो ।