कांग्रेस र एमालेबिचको गठबन्धन कसैको विरुद्धमा छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् ।  मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन  कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारेका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए । उनले थपे‚‘संविधान संशोधन षड्यन्त्र गरेर हैन ।  सबैसँग सल्लाह गरेर गरिने कुरा हो । केपी शर्मा ओली र मेरो बिचमा भएको सहमति कसैको दबाबमा हैन ।’

सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे ।