काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) ले सार्वजनिक बहस अस्वीकार गरेका छन् ।
उनी झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आगामी नीति तथा कार्यक्रमबारे एउटै मञ्चमा राखेर सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला शाहले भने अस्वीकार गरेका हुन् ।
आइतबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए । दुवैले झापा-५ बाटै उम्मेदवारी दिएका छन् ।
देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ भनी सार्वजनिक बहसमा उपस्थित हुन आफू तयार रहेको ओलीले सामाजिक सञ्जालमा लेखेका थिए ।