उपप्रधानमन्त्री सिंहसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री सिंहलाई भेट्न नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सोमबार बिहान सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगेका थिए । 

नेपालको दुईदिने भ्रमणमा रहेका सचिव मिस्रीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले नेपाल-भारत सीमामा हुने आवतजावतमा देखिएका समस्यालगायतका विषयमा कुराकानी गरेका थिए ।

उपप्रधानमन्त्री सिंहको सचिवालयका अनुसार भेटवार्ताका क्रममा सहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायतका नदीको स्वच्छता र सरसफाईलगायतमा भारतले सहयोग गर्न सकिने विषयमा छलफल भएको थियो । त्यस्तै, नेपाल र भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको हो ।

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदी सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताएका थिए ।

भेटमा नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए । ‘नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सिंह र मिस्रीबीचको भेटपछि भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियान चलाएका छौं । सीमा नदीमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरू राख्यौं । उहाँहरू त्यसमा सकारात्मक हुनुभयो ।’

भारतको इन्दौर लगायतका केही सहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदी सफाइको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको बताइएको छ ।

भारतका विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधै साथसहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राज्यमन्त्री कान्छारामले आतङ्क मच्चाएको रामेछाप कांग्रेस सचिवको आरोप, भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ ।

Read More »