
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए ।
उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।
सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।
तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।