
काठमाडौं ।
कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द हुने क्रम बढेको छ । यसैक्रममा, कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल सधैंका लागि बन्द भएको छ । लकडाउनपछि क्यूएफएक्स चेनको जय नेपाल हल पनि बन्द भएको थियो । यी दुवै सिनेमा हलबाट नेपाली निर्माताले राम्रो शेयर पाउने गरेका थिए ।
शनिवारदेखि कुमारी हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । ३७ वर्षको इतिहास बोकेको हल बन्द गर्नुको कारणबारे क्यूएफएक्सका सिइओ रोशन अडिगा भन्छन्, ‘कोरोना महामारीभन्दा अगाडि हल बन्द गर्ने विषयमा सोचेका थिएनौं । तर, कोभिडपछि खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएका हौं ।’
नेपालमा चलचित्र प्रदर्शनको एउटा गर्विलो इतिहास बोकेको कुमारी हलमा पहिलो पटक ‘जय सन्तोषी माता’ चलचित्र प्रदर्शन भएको थियो । २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको यो हलबाट नेपाली निर्माताले ठूलो मात्रामा शेयर पाउने गरेका थिए । कुमारी हलको अकुपेन्सीको आधारमा देशभरका मल्टीप्लेक्समा चलचित्र हेर्ने दर्शकको चाप अनुमान गरिन्थ्यो ।
जय नेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ सिनेमा हल खोलेको छ । कोरोना महामारी सामान्य भएपछि दुवै ठाउँका सिनेमा हल सञ्चालनमा आउने सिइओ अडिगाले बताए । योसहित क्यूएफएक्सको आउटलेट संख्या १२ पुगेको छ । अहिले क्यूएफएक्सले तत्काल नाफा नहुने हल बन्द गरेर मोफसलमा आउटलेट विस्तार गरिरहेको छ ।