नमोबुद्ध र बनेपा नगरपालिका जेठ १२ सम्मका लागि शिल

बनेपा । कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित भएसँगै काभ्रे जिल्लाको बनेपा नगरपालिकाले जेठ ४ गते मंगलबार देखि जेठ १२ गते बुधबारसम्म ८ दिनका लागि र नमोबुद्ध नगरपालिका जेठ ५ गते बुधबार राती १२ बजे देखि जेठ १२ गते राती १२ बजेसम्म ७ दिनका लागि शिल गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै नागरिकको जीउज्यानको सुरक्षार्थ शिल गर्न लागिएको हो । नगरपालिकाको सबैक्षेत्र पूर्ण रुपमा शिल हुने दुबै नगरबाट जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।
बनेपा नगरपालिकाले फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट तथा विद्युत्त सेवाको हकमा भने न्यूनतम कर्मचारी उपस्थित भइ सेवा प्रवाह गर्न सकिने बताएको छ । साथै कार्यक्षेत्रमा खटिने सम्पूर्ण कर्मचारीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाई सेवा प्रवाह गर्न सकिने छ । नगरपालिकाले अत्यन्त जरुरी सूचना प्रकाशन गरी अत्यावश्यक सेवा प्रवाहमा बाहेक नीजी तथा सार्वजनिक सवारी साधनको प्रयोग नगर्न आग्रह गरेको छ । मार्निङ वाक लगायतका क्रियाकलाप समेत नगर्न र अतिआवश्यक भएमा जनप्रतिनिधि, स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र घरबाहिर निस्कन आग्रह गरिएको छ ।

त्यसै गरि नमोबुद्ध नगरपालीकाले भने यो अवधीमा औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था÷स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ । यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने तथा अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
