समाजसुदुर पश्चिम

१२ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई करणी गरी गर्भवती बनाउने अभियुक्तद्वारा अपराध स्वीकार

काठमाडौँ
अछामको रामारोशन–४ की १२ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका एक अभियुक्तले आफ्नो अपराध स्वीकार गरेका छन् । पक्राउ परेका (नाम परिवर्तन) श्यामले ती बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेको स्रोतले बताएको छ । प्रहरीले १४ वर्षीय श्यामलाई कात्तिक ९ गते पक्राउ गरेको थियो । यसअघि ती बालिकाले (नाम परिवर्तन) हरिले आफूलाई बलात्कार गरेको भन्दै पोलेकी थिइन् ।

प्रहरीमा उजुरी परेलगत्तै १३ वर्षीय हरि कात्तिक ५ गते पक्राउ परेका थिए । श्याम र हरि ती बालिकाकी छिमेकी हुन् । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा हरिले आफूलाई बलात्कार गरेको भन्दै बालिकाले प्रहरीसमक्ष पहिलोपटक आरोप लगाएर पोलेकी थिइन् । अनुसन्धानकै क्रममा ती बालिकाले एकाएक आफ्नो बोली फेरिन् । श्याम भन्नुपर्ने ठाउँमा हरि भनेको भन्दै ती बालिकाले बयान फेरेकी स्रोतले जनाएको छ । हरिले होइन श्यामले आफूलाई बलात्कार गरेको भन्दै पोलिन् । पक्राउ परेका श्यामले ती बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेको प्रहरी स्रोतले बताएको छ । श्यामविरुद्ध जिल्ला अदालतले तेस्रोपटक म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ । यता प्रहरीको सोधपुछको क्रममा हरिले बालिकालाई बलात्कार गरेको अस्वीकार गर्दै आएका छन् ।

पक्राउ परेका हरिविरुद्ध प्रहरीले तीनपटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । सम्भवतः प्रहरीको निष्कर्ष र अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाइनेछ । प्रहरीले श्याम र पीडित बालिकको रगत डीएनए परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका इन्सपेक्टर अनिल अवस्थीले जानकारी दिए । यता, बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको पाइएको थियो । एक हप्ताअघि बालिकालाई थप उपचारको लागि अछामबाट काठमाडौँस्थित प्रसुती गृहमा ल्याइएको थियो ।

शुक्रबार अस्पतालका चिकित्सकले प्रसूती वेथा लाग्ने औषधिमार्फत उनको गर्भमा रहेको शिशु तुहाइदिएका छन् । गर्भपतनसँगै बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् । सुस्त मनस्थिति रहेका बालिकालाई एक महिनाअघि कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुर्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् । ती बालिकाकी बाबुआमा पनि सुस्तमनस्थिति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button